काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा भएका २२ प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। शनिबार आयोजित कार्यक्रममा मन्त्री मेहताले स्वास्थ्य सेवालाई नागरिकमैत्री, प्रविधिमैत्री र गुणस्तरीय बनाउने दिशामा महत्वपूर्ण नीतिगत तथा संरचनागत सुधार अघि बढाइएको बताइन्।
मन्त्रालयका अनुसार २१७ अस्पताल आबद्ध रहेको निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याई ३ हजार २५५ निःशुल्क शय्या व्यवस्थापन गरिएको छ भने २ हजार २६२ जनाले सेवा लिइसकेका छन्। वीर, कान्ति, ट्रमा, भरतपुर र पोखरा अस्पतालमा एकीकृत डिजिटल ड्यासबोर्ड सञ्चालनमा आएको छ भने राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणालीको मापदण्ड स्वीकृत गरिएको छ।
यस्तै, १४ संघीय अस्पतालमा जलन उपचार युनिट स्थापना, २० करोड रुपैयाँको जलन उपचार कोष, स्वास्थ्य बीमाअन्तर्गत १८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, ९७७ नयाँ संघीय दरबन्दी थप, ११६६ मानसिक स्वास्थ्य हटलाइन सञ्चालन तथा अधिकांश संघीय अस्पतालमा सुलभ फार्मेसी सेवा विस्तार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नेपाल औषधि लिमिटेडसँग प्रत्यक्ष औषधि खरिद सम्झौता, ११ हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा मेडिकल उद्धार सेवा, कर्मचारी आचारसंहिता लागू, खाद्य अनुगमन विस्तार र मोबाइल प्रयोगशालामार्फत विषादी परीक्षणलाई पनि प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको छ।
२२ प्रमुख उपलब्धि
१. २१७ अस्पताल आबद्ध भएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालन, ३,२५५ निःशुल्क शय्या व्यवस्थापन तथा २,२६२ सेवाग्राही लाभान्वित।
२. प्रधानमन्त्रीको शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि मन्त्रालयस्तरीय कार्यान्वयन समिति गठन।
३. वीर, कान्ति, ट्रमा, भरतपुर र पोखरा अस्पतालमा एकीकृत डिजिटल ड्यासबोर्ड सञ्चालन।
४. राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली (National Integrated Health Information System) मापदण्ड स्वीकृत।
५. बिरामी प्रेषण राष्ट्रिय निर्देशिका र रिफरल प्रोटोकल कार्यान्वयन।
६. ‘अस्पताल सेवा सुधार कार्यविधि–२०८२’ लागू गरी नियमित अनुगमन व्यवस्था।
७. सुलभ फार्मेसी सेवा सुरु, स्वास्थ्य बीमा र निःशुल्क औषधि वितरणमा एकद्वार प्रणाली।
८. सिंहदरबार वैद्यखाना र १५९ आयुर्वेद संस्थाबीच ३३ प्रकारका आयुर्वेदिक औषधि खरिद सम्झौता।
९. १४ संघीय अस्पतालमा जलन उपचार युनिट सञ्चालन तथा २० करोड रुपैयाँको जलन उपचार कोष।
१०. ११ हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा मेडिकल उद्धार (मेडिकल इभ्याकुएसन) सम्झौता।
११. स्वास्थ्य बीमाअन्तर्गत १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी र सुधार रणनीति कार्यान्वयन।
१२. मानसिक स्वास्थ्य सेवा विस्तार, ११६६ हटलाइनमार्फत मनोसामाजिक परामर्श।
१३. आठ हिमाली पालिकामा हाई अल्टिच्युड क्लिनिक स्थापनाका लागि बजेट व्यवस्था।
१४. आन्दोलनका घाइतेको निःशुल्क उपचार तथा अस्पताललाई शोधभर्ना रकम भुक्तानी।
१५. सेवा प्रवाह सुधारका लागि बिजनेस प्रोसेस रिइन्जिनियरिङ (BPR) कार्यदल गठन र प्रक्रिया सरलीकरण।
१६. मन्त्रालयका कर्मचारीको आचारसंहिता तथा कार्यसम्पादन सूचक स्वीकृत।
१७. ‘हेल्लो स्वास्थ्य’ र ‘हेल्लो सरकार’ मार्फत गुनासो व्यवस्थापन प्रणाली सुदृढ।
१८. नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब, इन्टर्न चिकित्सकको पारिश्रमिक र रात्रिकालीन भत्ता वृद्धि।
१९. संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ संघीय दरबन्दी थप।
२०. ७९औँ विश्व स्वास्थ्य सभामा नेपालको उपाध्यक्ष भूमिका तथा स्वास्थ्य कूटनीतिमा सक्रिय सहभागिता।
२१. मोबाइल खाद्य प्रयोगशालामार्फत १५,६९० नमुनामा विषादी परीक्षण तथा ३,५४१ खाद्य अनुगमन।
२२. नेपाल औषधि लिमिटेडसँग प्रत्यक्ष खरिद सम्झौतामार्फत अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गरी निःशुल्क वितरणको तयारी।