काठमाडौं । वीपी कोइराला फाउण्डेसनले दृष्टिविहीनहरुलाई ठूलो संख्यामा सेतो छडी सहयोग गरेको छ ।अपाङ्गता संरक्षण नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा फाउण्डेसनले ९५० थान सेतो छडी हस्तान्तरण गरेको हो ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित कार्यक्रममा फाउण्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा साहिल कुमारले दृष्टिविहीनहरुको सहयोगार्थ नेपालभर वितरणका लागि ९५० थान सेतो छडी हस्तान्तरण गरेका हुन् ।
बीपी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र स्वास्थ्य क्षेत्र पनि पर्छ । फाउण्डेसनले कोभिड-१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो ।भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बीपी कोइराला फाउण्डेसन स्थापना भएको हो।
दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्धिक संवादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउण्डेसनको उद्धेश्य रहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।