काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको पछिल्लो गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो।
सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ। गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन्। हाफ मुन वे एसियाली मूलका मानिसहरूको बाहुल्य भएको क्षेत्रको रुपमा चिनिन्छ।
हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार उनले हत्या गरेका चार व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए । अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए।क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले गोली काण्डका यी घटनालाई ‘त्रासदीपूर्ण’ भनेर टिप्पणी गरेका छन्।
पहिलो गोलीकाण्डमा घाइते भएकाहरूलाई भेटिरहेकाबेला उस्तै प्रकृतिको अर्को घटना हुनुलाई उनले दुःखद र कायरतापूर्ण भनेर टिप्पणी गरेका छन्।