धनुषा । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् ।
मिलापत्रअनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन् ।
मिलापत्रमा भनिएको छ, ‘म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषद्योपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको ।’
विसं २०७६ कात्तिक ६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–४ का शिवराज श्रेष्ठले आफूलाई ललाइफकाइ तथा डर धम्की देखाएर पटक–पटक जबर्जस्ती करणी गरेको भन्दै निहारिकाले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन् ।
यस मुद्दामा न्यायाधीश परशुराम भट्टराईको इजलासले शिवराजलाई सफाइ दिएको थियो । न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएपछि सो मुद्दा उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको थियो । उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डिएनए परीक्षण गर्दा मिलेको थियो ।