काठमाडौं । वनभोजमा सहभागीबाट आर्थिक संकलन गरी मिर्गौलापीडितलाई सहयोग गरिएको छ । उदयपुरको बेलका नगरपालिकालाई कार्यक्षेत्र बनाई काठमाडौंबाट सक्रिय बेलका विकास समाज (बड्स) ले दुवै मिर्गौला फेल भएर वीर अस्पतालमा उपचाररत बिरामीका लागि सहयोग जुटाएको हो ।
बेलका ४ कै जितबहादुर मगरसहित संस्थाका पदाधिकारीले आर्थिक अवस्था कमजोर भएका बेलका नगरपालिका-४ लालबजारका ४९ वर्षीय गणेश थापा मगरलाई कलङ्कीस्थित उनकै डेरामा पुगेर १० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । दुवै मिर्गौलामा समस्या भएका उनी एक वर्षयता वीर हस्पिटलमा उपचार गराउँदै आएका छन् ।
यसैगरी, वडा नम्बर ६ राक्चेका अमृतलाल राईलाई वीर हस्पिटल पुगेर संस्थाका पदाधिकारीले सहयोग रकम हस्तान्तरण गरे । सहयोग रकम बुझ्दा उनी अस्पतालको शय्यामै थिए ।
अस्पतालमा उपचाररत राईलाई संस्थाले उपलब्ध गराएको १० हजार रुपैयाँमा बेलका नगरपालिकाका मेयर अशोकले पनि पाँच हजार रुपैयाँ सहयोग थप गरिदिए । मेयर कार्की पनि संस्थाका पदाधिकारीसँगै अस्पताल पुगेका थिए । उनले दुवै बिरामीलाई नगरपालिकाले सकेको थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
१४ माघमा चन्द्रागिरीको स्विट्जरल्याण्ड पार्कमा आयोजना गरिएको पिकनिक कार्यक्रममा सहयोग रकम संकलन गरिएको थियो । बड्स बेलका नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर काठमाडौंबाट सक्रिय संस्था हो । बेलका नगरपालिकाको समृद्धि र नगरवासीको हितमा काम गर्नु नै आफूहरूको मुख्य उद्देश्य भएको बड्सका अध्यक्ष मोतिराज थापाले बताए ।