काठमाडौं । राजीनामा पश्चात् स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्ने भएकी छन् । उनीसँगै राजीनामा बुझाएका रास्वपाका २ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज दिउँसो ३ बजे रास्वपाको पार्टी कार्यालयमा हुने बताइएको छ ।
आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए । रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए ।