काठमाडौं । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा.सन्जिव कुमार शर्मा नियुक्त भएका छन्। निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेपछि शिक्षाध्यक्ष डा.शर्मालाई निमित्त उपकुलपतिको समेत जिम्मेवारी दिइएको हो।
सरकारले प्रतिष्ठानको शिक्षाध्यक्षसमेत रहेका डा. शर्मालाई उपकुलपतिको जिम्मेवारी प्रदान गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बताए। प्रतिष्ठानको निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि प्रतिष्ठान उपकुलपति विहीन थियो।
डा. शर्माले उपकुलपति र शिक्षाध्यक्ष दुवै पदको जिम्मेवारी बहन गर्ने मन्त्रालयका सचिव डा. पोखरेलले जानकारी दिए। उपकुलपति जिम्मेवारी पाएका शर्माले स्वास्थ्य मन्त्रालयले जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने बताएका छन् । उनी प्रतिष्ठानमा मात्र नभएर नेपालकै नाम चलेका चिकित्सक हुन्।