काठमाडौं । ललितुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र भारतको फोरबेस केयरबीच क्यान्सरका बिरामीको उपचारमा सहकार्य गर्ने सम्झौता भएको छ।

आज अस्पतालमा एक कार्यक्रमका बीच यी दुई संस्थाबीच क्यान्सर उपचारमा विशेष योगदान दिने लक्ष्यसाथ हस्ताक्षर भएको हो। त्यसमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठ तथा फोरबेस केयरका तर्फबाट एस रमेशले हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा डा.श्रेष्ठले नेपाल क्यान्सर अस्पतालले जेनेटिक अंकोलोजी तथा मोलिक्युलर ट्युमर बोर्ड मार्फत् सेवा दिन लागेको बताए। उनले मोलिक्युलर अंकोलोजीको प्रविधी विकसित देशहरुमा सुरु भइसकेको बताए । यस प्रविधिबाट इम्युनोथेरापी, टारगेटेड थेरापी दिने गरिन्छ। जसले गर्दा जुन सेलमा क्यान्सर भएको हो त्यो मात्रै नस्ट हुन्छ।
त्यस्तै अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर विशेषज्ञ डा. विजेश राज घिमिरेका अनुसार यो कुनै पनि बिरामीको ‘जिनोमिक’ आधारमा उपचार गर्ने प्रविधि हो । जुन हरेक बिरामीको लागि फरक - फरक हुन्छ । यो विधिबाट उपचार गर्दा निकै छिटो रिजल्ट आउने र सफलता रेट पनि बढी हुने गर्छ।
यो प्रविधि विश्वमै निकै छिटो फैलिरहेको छ र सफल पनि भइरहेको छ। परिवारको क्यान्सर हिस्टीका आधारमा उपचारको प्रक्रिया अगाडि बढाइने हुनाले जिनेटिक अंकालोजी क्यान्सर उपचारका लागि महत्वपूर्ण भएको कन्सल्टेन्ट डा.सृष्टि श्रेष्ठले बताईन्।