काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पताल पुगेका बिरामी अलपत्र परेका छन् । संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्।
आज बिहान उपचारका लागि वीर अस्पतालमा पुगेका धेरै बिरामीहरु अलमलमा परेपछि बिरामी तथा उनीहरुका आफन्तले प्रदर्शन गरेका छन्।उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले बीर अस्पताल अगाडीको सडकमा केहिबेर प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । अहिले भने प्रहरीले उनीहरुलाई हटाएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न संसद भवन जाने क्रममा बीर अस्पतालका एक डाक्टर प्रहरीबाट कुटिएका थिए । डाक्टर कुटिएपछि आक्रोशित बनेका चिकित्सकहरुले आज देशभर ओपीडी सेवा बन्दको आह्वान गरेका छन् ।