काठमाडौं । बालबालिकाको आँखाको नानीको कालो भागमा सेतो टीका देखिएको छ वा आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने यस्तो अवस्थालाई सामान्य रुपमा नहेर्न चिकित्सको सुझाव छ ।
यस्तो समस्या क्यान्सरको कारणले पनि हुन सक्ने चिकित्सक बताउँछन् । धेरैलाई थाहाँ नहुन सक्छ तर पाँच वर्षमुनिका बालबालिकालाई आँखाको क्यान्सर हुन्छ त्यसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ ।
समयमै उपचार गरिएन भने आँखाको क्यान्सर अन्य भागमा फैलिएर ज्यानै समेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार बताउँछिन्। ‘रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपन समेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्छ’ उनले भने ,‘त्यसैले आमाबुबाले बालबालिकाको आँखामा समस्या भएनभएको बारेमा चनाखो हुनुपर्छ ।’
बिरामी समयमै अस्पताल आएमा धेरैलाई नेपालमामै बचाउन सकिने डा. राजकर्णिकारको तर्क छ ।‘आँखाको उपचार नेपालमानै सम्भव छ तर रोगको बारेमा चनचेतना नहुँदा र समस्यालाई हेलचेक्राइ गरेर ढिला गरी बिरामी अस्पताल पुग्नुहुन्छ ।’ उनले भने ।