काठमाडौं । बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमा ८६ वर्षीया हरिकलालाई थप उपचारको लागि भारत लगिने भएको छ ।
बिहीबार बिहान चिकित्सकहरूले भण्डारी र उनकी आमाको अवस्था गम्भीर देखिएपछि उनका परिवार र नेपाली कांग्रेसका नेताहरूसँग स्वास्थ्य अवस्था र थप उपचारको विषयमा छलफल गरेका थिए ।
उक्त छलफलपछि चिकित्सकको सुझावका आधारमा भारत लैजाने भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।
भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
यस्तै डा. भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुन सक्ने अत्यधिक सम्भावना रहेको डा. किरण नकर्मीले जानकारी दिए ।
उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरिएको छ ।
भण्डारीकी आमा हरिकलाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।
