काठमाडौँ । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार भइरहेको छ । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्य सुधार भइरहेको हो।
शुक्रबार पहिलो शल्यक्रिया गरिएका नेता भण्डारीको स्वास्थ्य अहिले सुधार हुँदै गएको उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलगराज कँडेलले जानकारी दिए । ‘खुसीको कुरा के छ भने अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको छ’, कँडेलले भने, ‘आजबाट पाइपमार्फत खाना दिने कुरा भएकाले उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराउँदछौँ ।’
बिहान ९ बजे डा. मुकेश मिश्राबाट काउन्सिलिङ सम्पन्न भएको उनले बताए । कँडेलकाअनुसार अप्राकृतिक अक्सिजन मात्रा कम गर्दै जाने तयारी भइरहेको छ ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।