नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारका क्रममा रहेका उनको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्ट अनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ। साथै उनको ईटी ट्यूब पनि निकालिएको कँडेलले जानकारी दिए।
कँडेलका अनुसार "अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। अहिले पनि ट्रयालमै राखिएको हो। डाक्टरहरुको योजना अनुसार अक्सिजनको मात्रा १५ लिटरलाई घटाउँदै लगिने छ ।"
"फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनु पर्ने अवस्था नरहेको डाक्टरवाट जानकारी प्राप्त भएको छ। कल्चर रिपोर्ट आजै साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारी पश्चात एण्टीवायोटिकको मात्राको थपघट हुने " कँडेलले जानकारी दिएका छन्।