काठमाडौं । स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा स्वास्थ्य पत्रकारहरुलाई लक्षित गरी गरिएको दुई दिने चिकित्सकीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा प्राविधिक सहयोग स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको थियो। कार्यक्रममा बोल्दै स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले बेला बखतमा आयोजना गरिने यस्ता प्रकारका गोष्ठीले स्वास्थ्य पत्रकारको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न स्वास्थ्य पत्रकार मञ्चले पहल गर्ने बताए ।
स्वास्थ्य प्राविधिक विषय रहेको भन्दै भविस्यमा पनि विभिन्न संस्थासंग सहकार्य गर्दै यस्ता खालका तालीम गोष्ठी र प्रशिक्षणलाई निरन्तरता दिने बताएका हुन्।कार्यक्रममा स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रविण ढकालले स्वास्थ्य पत्रकारका चुनौती तथा स्वास्थ्य अनुसन्धानका समाचार लेखनबारे पत्रकारले भोग्नु परेका समस्याको बारेमा प्रकाश पारेका थिए।
धुलिखेलको सारथी होटलमा सम्पन्न भएको उक्त गोष्ठीमा प्राध्यापक रमेशकान्त अधिकारीले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा पत्रकारहरुलाई विभिन्न प्रशिक्षण दिएका थिए । उनले यस्ता खालका कार्यशाला गोष्ठीले पत्रकारहरुको हक हितमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
गोष्ठीमा आइओएमका सह प्राध्यपक डा.खेम कार्की स्वास्थ्य अनुसन्धान के हो, कसरी हुन्छ र स्वास्थ्य पत्रकारहरुका लागि यसको महत्वबारे प्रशिक्षण दिएका थिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीले स्वास्थ्य क्षेत्रमा गरिने विभिन्न प्रकारका अनुसन्धानका आधारमा स्वास्थ्य नीति बन्नुपर्ने बताए। उनले अझै पनि नेपालमा स्वास्थ्य अनुसन्धानको क्षेत्रमा प्रशस्त लगानी हुन नसकेको भन्दै लगानी भए मात्रै स्वास्थ्यको अनुसन्धान गर्न सकिने बताए। उक्त कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो।