काठमाडौं । सांसद तोसिमा कार्कीले स्वास्थ्यकर्मीहरुलाई अन्य सुरक्षाकर्मी सरहको सेवा सुविधा दिनुपर्ने बताएकी छन्। नेपाल स्वास्थ्यकर्मी यूनियन जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको ‘यूनियनको चौँथो जिल्ला अधिवेशन’ मा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले स्वास्थ्यकर्मीहरु समाजको पहरेदार भएको समेत बताएकी छन् । उनले भनिन्, ‘मुलुकमा स्वास्थ्यकर्मीको अवस्था नाजुक बन्दै गइरहेको हुँदा राज्यले उचित तरिकाको व्यवस्थापन गर्न सकिरहेको छैन् । हामीले उहाँहरुको हितमा थुप्रै काम गर्नुपर्ने देखिन्छ ।’ पेशागत संगठनले राजनीतिक दलभन्दा माथि उठेर स्वास्थ्यकर्मीको सवालमा आफूहरुलाई जानकारी गराउन आवश्यक रहेको कार्कीको भनाइ थियो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.सतिश विष्टले स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा दिनरात नभनी थुप्रै काम गरेका प्रसंशा गर्दै उक्त निकायले मानिसमा पर्न सक्ने ठूलो क्षतिबाट जोगाएका जिकीर गरे ।
सो यूनियन केन्द्रीय अध्यक्ष उज्ज्वलकुमार शर्माले विगतमा आफूहरु पार्टी र टेड यूनियनमा लाग्दा स्वास्थ्यकर्मीका लागि खासै काम नभएको धारणा राख्दै विभिन्न पार्टीका साथै राजनीतिक दलमा नलाग्ने उद्घोषका साथ २०६२\०६३ सालको जनआन्दोलनपछि स्वतन्त्र रुपमा सो संस्था खडा गरी काम गरिरहेको मत जाहेर गरे। उनले भने, ‘मुलुक प्रणालीगत रुपमा अघि बढ्ने गरी सम्बन्धीत निकायले कानुन निर्माण गरिदिनुपर्छ। यस किसिमको व्यवस्था भएमा मुलुक हरेक क्षेत्रमार्फत विकासतर्फ लम्कन पाउनेछ।’ नेपालमा स्वास्थ्यकर्मीको दरबन्दी आवश्यक भन्दा ११ हजार बढि रहेको सुनाउँदै स्वास्थ्य क्षेत्रका साथै स्वास्थ्यकर्मी तर्फ ध्यान दिन निकै जरुरी रहेको शर्माको आग्रह छ।