काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य आफ्नो रोजाईको मन्त्रालय भएको बताएका छन् ।
२५ औं स्वास्थ्य सेवा दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वास्थ्य मन्त्री गिरीले स्वास्थ्य मन्त्रालयमा रहेको फोहोर सफा गर्नका लागि आफूले स्वास्थ्य मन्त्रालय लिएको बताएका हुन् ।
स्वास्थ्य मन्त्रालय अवसर र चुनौती दुवै भएको मन्त्रालय हो, राम्रो काम गरेर हाईहाई भएर जाने तथा कालो धब्बा लागेर यहाँबाट जाने दुवै अवसर मैले पाएको छु स्वास्थ्यमन्त्री गिरीले भने । उनले आफू नयाँ होश र जाँगरका साथ स्वास्थ्य क्षेत्रको युगान्तकारी परिवर्तनका लागि लागेको बताए ।
नेपालमा विभिन्न समयमा अनेकौं राजनीतिक परिवर्तन भएतापनि दुरदराजमा रहेका निम्न आय भएका मानिसहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने अवस्था अझै पनि नरहेको स्वास्थ्यमन्त्री गिरीले उल्लेख गरे ।
स्वास्थ्य उपचार पाउने समयमा मानिसले राज्य छ भन्ने अनुभूती गराउन अझै पनि सक्ने अवस्था नरहेको उनले बताए । उनले नेपालले उत्कृष्ट स्वास्थ्य बिमा कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे । स्वास्थ्य बिमाको क्षेत्रमा विश्वका विभिन्न मुलुकहरुले लागु गरेको नितीका बारेमा अध्ययन र अनुसन्धानका लागि हामी लागि परेका छौं । केही दिन भित्रै त्यसको निश्चित निचोडमा पुग्ने उनको दाबी छ ।