काठमाडौ । पूर्व-स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्यमन्त्रीको ४२ दिने कार्यकालमा आफू समक्ष सरुवा तथा बढुवाका निम्ती ठूलै पंक्ति आएको बताएका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारीबाट हटेपछि स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
सरुवा तथा बढुवामा भन्दा पनि आफ्नो ध्यान गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा केन्द्रित भएको भेटघाटका क्रममा उनले बताए । आफ्नो कार्य अवधिभर स्वास्थ्य पत्रकारहरुले सत्य तथ्यमा आधारित भई सकारात्मक तवरले जनता माझ सुचना दिनका लागि सहयोग गरेको भन्दै पूर्व-स्वास्थ्यमन्त्री गिरीले पत्रकारहरु प्रति आभार व्यक्त गरे।
आम जनताहरुमा परिवर्तनको अनुभुति दिलाउनका लागि स्वास्थ्य क्षेत्रको सुधार अपरिहार्य रहेको उनको धारणा थियो । स्वास्थ्य क्षेत्रका समस्याहरुको पहिचान गरी काम गर्ने समयमा आफू जिम्मेवारीबाट हट्न परेकोमा उनको गुनासो छ । स्वास्थ्य मन्त्रीका रुपमा पदबहाली गर्नु अगाडि यस क्षेत्रमा यति धेरै समस्या छ भन्ने कुराको ज्ञानसमेत आफूमा नरहेको उनले बताए ।
स्वास्थ्य क्षेत्रमा भएको विभिन्न विकृतिका कारण नेपालमा विभिन्न समयमा अनेकौं राजनीतिक परिवर्तन भएतापनि दुरदराजमा रहेका निम्न आय भएका मानिसहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने अवस्था नरहेको उनले बताए।
उनले नेपालका सरकारी अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेका कारण नेपालमा बिमा कार्यक्रमको आकर्षण घटेको बताए । बिमाको उत्कृष्ट नीति ल्याउनका लागि आफ्नो नेतृत्वमा कार्ययोजना बनिसकेको स्वास्थ्य मन्त्रीको दाबी थियो ।