काठमाडौं । नेपाल चिकित्सक संघले अस्पतालमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै अस्पताललाई शान्तिपूर्ण बनाउन माग गरेको हो ।
संघका महासचिव डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै माघ २६ गतेका दिन नाबालिका प्रशंसा गौतमको मेट्रो अस्पतालमा असामयीक मृत्यु भएको घटनाका सम्बन्धमा फागुन १० गते हिमाल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सुरुमा हिमाल अस्पतालमा गरिएको उपचारका सम्बन्धमा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया सुरु गरिसकेको अवस्थामा प्रत्येक दिन अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा जम्मा भई नाराजुलुस गर्ने, अन्य बिरामीहरुको उपचार प्रक्रियामा खलल पुऱ्याएको तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई मानसिक तनाव सिर्जना गरिएको घटना अत्यन्तै अस्वाभाविक भएको नेपाल चिकित्सक संघको ठहर छ ।
