काठमाडौं । उपत्यकाको फोहोर फालिने स्थान नुवाकोट ककनी ३ बञ्चरेडाँडामा थुप्रिएको फोहोरबाट निस्केको लेदो सिधै खोलामा फाल्ने गरिएको छ।मंगलबारदेखि काठमाडौं महानगरले फोहोरबाट निस्कने विषाक्त लेदो जम्मा हुने गरेको ट्यांकी खोलेर सिधै कोल्पु खोलामा बगाएको हो।
स्थानीय वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर गर्नेगरी फोहोर फाल्न नपाइने कानूनी व्यवस्था रहेपनि महानगरले बञ्चरे क्षेत्रको फोहोरको लेदो सिधै खोलामा छोड्ने गरेको स्थानीय मानबहादुर तामाङले बताए।उनका अनुसार नुवाकोटको ओखरपौवा, चाउथे, कुमरी, बेलकोटगढी, धादिङको धुनिबेसी हुँदै त्रिशूली नदीमा मिसिने कोल्पुखोलामा वर्षौदेखि लेदो फालिने गरेको छ।
काठमाडौं महानगरले स्थानीय बासिन्दा र शहरी विकास मन्त्रालयसँग सम्झौता गरेर सिसडोल बञ्चरे क्षेत्रमा उपत्यकाको फोहोर फाल्दै आएको छ।फोहोरबाट निस्कने लेदो वैज्ञानिकरुपमा प्रशोधन समेत नगरी सिधै कोल्पुखोलामा फाल्दा नुवाकोट र धादिङका स्थानीयलाई प्रत्यक्ष असर गरेको छ।
पशुचौपायाले खाने, खेतीबाली र स्थानीय बासिन्दाले समेत दैनिक प्रयोग गर्ने खोलाको पानीमा महानगरले दादागिरी देखाएर लेदो फाल्ने गरेको भन्दै स्थानीय आक्रोशित छन्।