काठमाडौं । नेपालमा सातौं अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । 'सबैका लागि समग्र स्वास्थ्योपचार' भन्ने मुल नाराका काठमाडौंको सोल्टी होटलमा फागुन १९ देखी २१ गतेसम्म यो सम्मेलन हुन लागेको हो ।
बिहीबार नेपाल महर्षि वौदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सकले पत्रकार सम्मेलन गर्दै सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म काठमाडौंमा गरिने जानकारी दिएको हो ।
आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्याम बाबु यादवका अनुसार यस सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशका आयुर्वेद चिकित्सकहरुको सहभागीता रहनेछ।
उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने छन् । युरोप अमेरिका लगायत विश्वका विभिन्न देशका करिब १०० जना चिकित्सकहरुको सहभागी रहने उक्त कार्यक्रममा भारतका स्वास्थ्य मन्त्रीको विशिष्ट आतिथ्यता रहने छ।
सम्मेलनको प्रमुख आयोजकमा अन्तराष्ट्रिय महर्षि फाउन्डेसन नेदरल्यान्ड,अल इन्डिया आयुर्वेद काङग्रेस दिल्ली तथा अन्तराष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुर्णे रहेका छन्।
आयुर्वेद सेवाको व्यापक रुपमा विस्तार गर्न विश्वव्यापी रुपमा चेतनाको विकास गर्नु नै यस सम्मेलनको मुख्य लक्ष्य रहेको नेपाल आयुर्वेद संघले जनाएको छ।