काठमाडौं। बहिरोपनको समस्या न्यूनीकरणका लागि सरकारको पहल आवश्यक रहेको सोसाइटीका अध्यक्ष डा दीपेन्द्र श्रेष्ठले बताएका छन्। विश्व श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्टले शुक्रबार गरेको कार्यक्रममा सोसाइटीका अध्यक्ष डा दीपेन्द्र श्रेष्ठले बहिरोपनको समस्या न्यूनीकरणका लागि सरकारले नै पहल गर्नुपर्ने बताए हुन् । उनले कान स्वास्थ्यलाई सरकारले आफ्नो प्राथमिकतामा नराखेको बताए ।
सो कार्यक्रममा चिकित्सकहरुले ६० प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिने बताएका छन्। सोसाइटीका महासचिव एवं त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले समयमै उपचार गरे बहिरोपनको समस्याबाट बच्न सकिने बताए। विश्वमा सन् २०५० सम्म चार जनामध्ये एक जनामा बहिरोपना सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित हुने उनले बताए। अहिले भने पाँच जनामध्ये एक जनामा बहिरोपना सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित हुने देखिएको छ।
बहिरोपनको समस्या बढ्दै गएपनि नेपालमा दक्ष जनशक्ति पर्याप्त मात्रामा नरहेको सोसाइटीले जनाएको छ। नेपालमा हाल नाक, कान, घाँटी रोग विशेषज्ञ २१५ र अडियोलोजिस्ट र स्पीच ल्याङवेज प्याथलोजिस्ट ९० जना मात्र रहेको डा न्यौपानले जानकारी दिए। बहिरोपनको समस्या न्यूनीकरण गर्न सरकारले दक्ष जनशक्ति बढाउनुपर्ने, तालिम दिनुपर्ने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।