काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।
काठमाडौंको सोल्टी होटलमा भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले आयुर्वेद क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले सयौं वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने समेत बताए ।
उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रूपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरू परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको धारणा राखे ।
प्रधानमन्त्री दाहालले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको बताए । उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको जानकारी गराए ।
प्रधानमन्त्री दाहालले आयुर्वेद औषधिको उत्पादनका लागि अतिआवश्यक जडीबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने समेत उल्लेख गरे ।