काठमाडौं । हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही भएको थिएन । त्यही समयबाट होलीका दहन गर्दै फागु पुर्णिमाको दिन होली पर्व मनाउन थालिएको कथा धार्मीक छ । होलीका अर्थात अन्यायको हार र प्रल्हाद अर्थात सत्य विजय भएको प्रतिकका रुपमा होली मनाइएको धार्मीक कथाहरु छन् ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुवा पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने गरिन्छ । फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसीबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गिन पर्वको रूपमा लिइन्छ ।
कुनै पनि चाडपर्वले निश्चित मौसम, हावापानी, भूगोललाई अङ्गित गर्छ । रङ्गहरूको यो पर्व त्यही बेला आउँछ, जति बेला प्रकृतिमा हरियाली छाउन थाल्छ । यसअघि जाडो याम हुन्छ । प्रकृति पनि रुखो एवं सुख्खा हुन्छ । रुख/बुट्यानको पात झरेर उजाड हुन्छ । वायुमण्डलमा चिसो र सुख्खा हावा चलिरहेको हुन्छ । यो मौसमी अवस्थासँग हाम्रो शरीर र मनको खास कनेक्सन हुन्छ । त्यही कारण त जाडो याममा धेरैजसो चिन्ता एवं डिप्रेसनको रोगी बढ्ने चिकित्सकहरूको भनाई छ । प्रकृतिको यो स्वरूप फेरिँदै गर्दा होली पर्व आउँछ । अर्थात् जाडो सकिएर गर्मी बढ्न थालेपछि। आकाश खुल्छ । यति बेला बिस्तारै प्रकृतिमा हरियाली छाउन थाल्छ। वायुमण्डलमा शीतल हावा वहन थाल्छ । रुख/बुट्यानले पालुवा फेर्न थाल्छ । रङ्ग विरङ्गी फूलहरू हावामा तैरिन थाल्छन् ।