काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका विरामीको उपचार गरेका छन् ।
जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रुपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका विरामीको उपचार गरेका हुन्।
गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा शनिबार र आइतबार दुई दिन सञ्चालित निःशुल्क आँखा शिविरमार्फत डा. रुइतले मोतियाविन्दुका रोगीको शल्यक्रिया साथै उपचार सेवा प्रदान गरे । डा. रुइतको नेतृत्वमा अर्का नेत्र रोग विशेषज्ञ डा. होम गुरुङको संलग्नतामा शनिबार ५० जना र आइतबार २० गरी ७० जना मोतियाविन्दु भएका रोगीको आँखाको शल्यक्रिया गरिएको छ ।
मोतियाविन्दु भएका चार जनालाई भने शल्यक्रियासहित उपचारका लागि तिलगङ्गा आँखा अस्पतालका लागि सिफारिस गरिएको फक्ताङ्लुङ गाउँपालिकाका कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिए ।