काठमाडौं । प्रहरी नायब निरीक्षक फूलकुमारी पौडेले अझै पनि महिलाहरु छाउ गोठमा बसेर बलात्कृत हुने गरेको बताएकी छन् ।
अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा 'छोरीका लागि छोरी' संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अझै पनि नारीहरुलाई विभिन्न बहानामा जल्न बाध्य पारिने भएकोले आगामी दिनमा त्यस्तो समस्याको अन्त्य हुनुपर्ने बताएकी छन् ।
कार्यक्रममा बोल्दै अधिवक्ता जमुना भुषालले एसिड आक्रमण जस्ता विभिन्न प्रकारका घटनाहरुको शिकार महिलाहरु भइरहँदा महिला अधिकारका कुरा कागजी भुवा मात्रै भएको बताईन् ।
महिला दिवसलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिन नामकी महिलाको दिमागको उपज हो । त्यसका लागि उनले एक प्रकारको सम्मेलनको आयोजना आवश्यक भएको तथ्य अगाडि सारेकी थिईन् । त्यसै अनुरुप स्वीजरल्याण्डमा सम्मेलनको आयोजना गरिएको उनले स्मरण गराईन् ।
सम्मेलनमा १७ देशका १ सय महिला प्रतिनिधिहरूले महिला हिंसाका बारेमा विभिन्न प्रकारका प्रस्तुती समेत दिएका थिए । अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा मनाइयो ।जेटकिनले आफ्नो विचार सन् १९१० मा कोपेनहेगनमा आयोजित महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा पेश भएको भन्दै ऐतिहासिक घटनाक्रम सहित अधिवक्ता भुसालले प्रस्तुती दिएकी थिईन् ।