कैलाली । नेपालका पश्चिम तराईका १५ जिल्लाहरु सिकलसेल एनिमिया’ रोगबाट प्रभावित भएका छन् । नेपालको कपिलवस्तु देखी कञ्चनपुरसम्मका मधेसका जिल्लाहरुमा सिकलसेल एनिमिया’ रोगको प्रकोप बढेको हो ।
नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौं, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको छ। सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पुर्याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ।
फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो।
संस्थाका कोर्ष डाइरेक्टर (पाठ्यक्रम निर्देशक) प्राध्यापक डा शुभेषराज कायस्थले केही वर्षअघि ठूलो जनसङ्ख्यामा गरिएको सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतको रोगले आक्रान्त रहेको फेलापरेको जानकारी दिए।