काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एकीकृत प्रवेश परीक्षामा पाठ्यक्रम पालना नगरिएको भन्दै बिद्यार्थी आन्दोलित भएका छन् ।
परीक्षामा पाठ्यक्रम भन्दा बाहिर गएर प्रश्न सोधिएको भन्दै बिद्याथीहरु आन्दोलित भएका हुन् । पटक-पटक दुतावासमा नै गएर परीक्षामा पाठ्यक्रमको पालना नभएकोमा विरोध जनाउँदा पनि त्यसको सुनुवाई नभएपछि आफूहरु आन्दोलित हुन बाध्य भएको बिद्यार्थी चन्दन कुमार गोईत बताउँछन् । दूतावासले दादागिरीको स्वरमा समस्याको समाधान गर्न नसक्ने बताएको उनको जिकिर छ ।
नेपाल सरकारले पाठ्यक्रम र कोटा दिएपनि त्यसको पालनामा दूतावास इमान्दार नदेखिएको बिद्यार्थीहरुको दाबी छ । अदालतले समेत बिद्यार्थीको पक्षमा सुनुवाई गरेको छ, तर दूतावास त्यसको परिपालना गर्दैन गोईत बताउँछन् ।
आन्दोलित विद्यार्थी रुस्तम जियाँका अनुसार भारत लगायत अन्य मुलुकहरुमा पाठ्यक्रम अनुसारको प्रश्न सोध्ने परिपाटी रहेकोमा नेपालमा भने त्यस्तो हुन सकेको छैन । जिम्मेवार निकायको गैरजिम्मेवारीपनका कारण आफूहरु आन्दोलित हुन बाध्य भएको उनको दाबी थियो ।