काठमाडौ । विश्व मृगौला दिवसको अवसरमा स्टार हस्पिटलले नयाँबजार क्लब किर्तिपुर र नयाँ छहारी नेपाल किर्तिपुर संगको सहकार्यमा किर्तिपुरको नयाँबजारमा, यहि शनिबार मृगौला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।
स्टार हस्पिटलका बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अनिल पोखरेलको नेत्तृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले करिब ३०० जना बिरामीको निःशुल्क मृगौला सम्बन्धी रगत, पिसाब र चिकित्सकीय सेवा प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. पोखरेलले मृगौला रोग लाग्नबाट बच्न अपनाउनुपर्ने विभिन्न पाटाको बारेमा प्रकाश पार्दै, रोग लागी हालेको खण्डमा कसरी जिवनलाई सहजबनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।
मृगौला खराब हुन थालेको सुरुवाती अवस्थामा कुनै पनि किसिमका लक्षणहरु नदेखिने र मृगौलामा धेरै नै क्षति पुगेपछि मात्र लक्षण देखिने हुँदा सो समयमा मृगौलालाई पुरानै अवस्थामा फर्काउन गाह्रो भई बिरामीले डायलाइसिस् वा मृगौला प्रत्यारोपण गर्नुपर्ने सम्मको अवस्था आउने हुनाले समयमा नै नियमित रुपमा मृगौला सम्बन्धी जाँचहरु गर्न उपयुक्त हुने र यस किसिमका कार्यक्रमहरुले मृगौला रोग सम्बन्धी सचेतना फैलाउन सहयोग पुग्ने कुरामा जोड जोड दिएका थिए ।
कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननिय श्री पुकार महर्जन ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । स्टार हस्पिटलले हरेक वर्ष विश्व मृगौला दिवसको उपलक्षमा यस किसिमका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।