काठमाडौं । नेपालमा पानीको संकट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले ‘बर्सातको पानी संकलन : पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ ।
विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले अन्य विभिन्न निकायको सहयोगमा उक्त दुई दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
आयोजक समितिले सम्मेलनको तयारी पूरा भएको जनाएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी समितिका अध्यक्ष एवम् स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष ई. रामदीप साहले सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । अध्यक्ष साहको अध्यक्षतामा आयोजक संस्था र सहयोगी संस्थाका प्रतिनिधिहरु सम्मिलित एक आयोजक समिति बनेको छ । त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा एक प्राविधिक समिति बनेको छ ।
प्राविधिक समितिले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रको छनोट र सम्पादन गरी उपयुक्त ढाँचा तयारी गरिसकेको जनाएको छ । अध्यक्ष साहका अनुसार बर्सातको पानी संकलनार्थ प्राप्त अवसरलाई दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका सन्दर्भमा सम्बोधन गर्ने सम्मेलनको उद्देश्य छ ।