काठमाडौं । मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा पनि आज (मार्च २०) विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ। विश्व मुख स्वास्थ्य दिवस विगत आठ वर्षदेखि मनाइदै आइएको पाइन्छ। पहिला सेप्टेम्बर १२ मा मनाइन्थ्यो।तर २०१३ देखि मार्च २० मा यो दिवसलाई मनाउन थालिएको हो।
यसलाई वर्ल्ड डेन्टल फेडेरेशनको नेतृत्वमा विश्वभरका १३० वटा डेन्टल एशोसिएशनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवस भनेर जनचेतनासहित यो दिवस मनाउँदै आएको छ ।
दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने दन्त चिकित्सकहरु बताउँछन् । दाँत तथा मुखमा समस्या आएपछि मात्र जचाउन जाने प्रवृत्तिले मुख तथा दाँतका बिरामी बढ्दै गएको उनीहरुको भनाई छ ।
तथ्यांक अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, मुख गन्हाउने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ ।
दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, जोर्नी तथा हड्डीको रोग, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर गर्न सक्ने दाँत तथा मुख रोग विशेषज्ञहरु बताउँछन् ।