काठमाडौं । मंगलबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने क्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले फोक्सोको क्यान्स्रबाट हुने मृत्युको ७० प्रतिशत कारण सुर्तीजन्य पदार्थबाट हुने गरेको भन्दै सुर्ती नियन्त्रणका लागि सरकारले प्रभावकारी कदमहरु चाल्नुपर्ने बताए ।
सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान र उपचारमा रु ९ लाख ८१ हजा ३ सय ७० खर्च हुने अनुन्धानले देखाएको छ । एक्सन नेपालले सन् २०१९ सालमा १०३ जना क्यान्सरका बिरामीहरुमा ‘सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीहरुको आर्थिक भार सम्बन्धी अनुसन्धान गरेको थियो । नेपालमा क्यान्सर रोगको उपचार हुने तीन ठूला अस्पतालहरु वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज बिरामीमा यो अनुसन्धान गरिएको थियो । उक्त अध्ययनका अनुसार गरिब तथा अशिक्षित वर्गमा बढि मात्रामा क्यान्सर हुने पत्ता लागेको थियो। एक चौथाइ टोबाको क्यान्सर बिरामीहरु ५५-५९ उमेर समुहका व्यक्तिहस्मा भेटिएको छ । नेपालमा बार्षिक करीब तिन अर्ब पाँच करोड क्यान्सर उपचार खर्च हुने गरेको एक्सन नेपालले गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
सरकारले क्यान्सरको उपचारको लागी रु एक लाख बराबरको अनुदान दिने व्यबस्था गरेको छ । जुन जम्मा प्रत्यक्ष मेडिकल खर्चको एक चौथाई भन्दा पनि कम रहेको छ भने अर्कोतिर बिमा सुविधाले उपचार खर्च नसमेट्ने भएकोले सरकारले पिडित गरिब बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनुपर्ने देखिन्छ ।
नेपालमा सुर्तिजन्य पदार्थमा लाग्ने करको दर ३३ प्रतिशत भन्दा तल छ । यद्यपि बिश्व स्वास्थ्य संगठनले सुर्तिजन्य पदार्थमा लाग्ने करको दर कम्तिमा ७५ प्रतिशत हुनुपर्ने सिफारीस गरेको छ ।
डव्लुएचओको मापदण्ड अनुसार करको दर बृद्धि गर्न अति आवश्यक रहेको अध्यक्ष चन्दले बताए। सूर्तिजन्य पदार्थमा लाग्ने करको दर उल्लेख्य रुपमा बढाउदा सरकारको आम्दानी बढ्ने, सूर्तिजन्य पदार्थ महंगो भई सेवनमा कमि आउने, अतिरिक्त आम्दानीलाई स्वास्थ्य प्रर्बदनका क्षेत्रमा लगानी गर्न तथा अनुदान दिन प्रयोग गर्न मिल्ने चन्दले भने ।