काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार वर्षको अवधिमा क्षयरोगबाट चार सय ३० जनाको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ बिरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएकोे छ।
प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा ९० जना, २०७७/७८ मा एक सय १५ जना र आर्थिक वर्ष २०७६/७७ मा एक सय १२ जना क्षयरोगीको मृत्यु भएको जनाइएको छ।
क्षयरोगका कारण मृत्यु हुने दर कैलालीमा उच्च रहेको निर्देशनालयले जनाएको छ। कैलालीमा चालु आर्थिक वर्षको फागुनसम्म ४३ जना, आर्थिक वर्ष २०७८/७९ मा २९ जना, आर्थिक वर्ष २०७७/७८ मा ५४ र आर्थिक वर्ष २०७६/७७ मा ५० जना क्षयरोगीको मृत्यु भएको जनाइएको छ।