काठमाडौं ।नेपाल नेत्रज्योती संघद्वारा एक वर्षमा ३० लाख ७ हजार २९१ मानिसलाई आँखाको परीक्षण सेवा प्रदान गरिएको छ । 'हाम्रो कर्तव्य ,हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी 'भन्ने नारासहित ४५ औं नेत्रज्योती दिवस मनाउने क्रममा संघले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
नेपाल नेत्रज्योती संघले आज सोमबार ४५ औं नेत्रज्योती दिवस मनाएको हो । वि. सं २०३५ साल चैत्र १३ गते आजैका दिन स्थापना भएको यस संस्थाले नेपालका ९० प्रतिशत मानिसहरुमा सस्तोमा स्वास्थ्य सेवा दिदैं आइरहेको छ ।
हाल नेपालको सबै क्षेत्रहरुलाई समेट्ने लक्ष्यका साथ संघ अन्तर्गत २७ आँखा अस्पताल,१५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ जिल्लाहरुमा यसको शाखा स्थापना भएको छ । यस संस्थाले पूर्व मेची देखी पश्चिम महाकालीसम्म नै गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनका लागि अग्रणी भूमिका खेल्दै आइरहेको छ ।
सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल , उपचार केन्द्रहरु साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३० लाख ७ हजार २९१ जनाको आँखाको परीक्षण गर्नुका साथै २ लाख ७२ हजार ९५० जनाको आँखाको शल्यक्रिया गर्न सफल भएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा संघले अन्धोपनको पछिल्लो जानकारी पाउनका लागि नेपालमा सन् २०१९/२० मा गरेको सर्वेक्षण अनुसार नेपालमा अन्धोपनको स्थिती सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०२० मा ०.२८ प्रतिशतमा झरेको थियो ।