काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो।
महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिए ।
आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला महोत्सवबाट सिक्न सकिने उहाँको भनाइ छ। ध्यान, साधना, सङ्गीत, नृत्य, हास्य, स्वाद साहित्य र अध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताए।