काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले विभिन्न सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरि विश्व अटिजम दिवस मनाएको छ ।
विश्वभरि नै बालबालिका अटिजमको समस्या बढ्दै गएका कारण विश्व अटिजम दिवस मनाइएको अस्पतालले जनाएको छ । कन्सल्टेन्ट डेभ्लोमेन्टल पिरियाट्रिसियन डा.जमुना आचार्यका अनुसार नेपालजस्ता मुलुकमा यस्ता समस्या भएका बालबालिकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका कारण यस दिवस मनाउन आवश्यक रहेको छ ।
विराट मेडिकल कलेजका बाल स्वास्थ्य विभागका प्रमुख डा.हेम सागर रिमालका अनुसार नेपालमा मात्रै नभई विश्वमा नै अटिजमको समस्या बढ्दै गएको छ । उनका अनुसार यस्तो समस्या भएका बालबालिकाहरुमा दोहोरो सम्वाद नगर्ने, एकोहोरिने, राम्रोसँग वोल्न नसक्ने, शब्दहरु दोहोर्याईरहने लक्षणहरु हुन्छन् ।
अटिजम भएको १८ महिना देखी २ वर्षको उमेरमा थाहा पाउन सकिन्छ । परिवारको साथ र सहयोग तथा विभिन्न थेरापीहरुबाट उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सकिने चिकित्सकहरुको भनाई छ ।