काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गरेका छन् ।शारीरिक अशक्त उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।
उनका दुवै खुट्टा छैनन् । उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । हरि कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनेछन् ।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुअघि विमानस्थलमा उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए। उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्न लागेको बताए ।