काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)शाहले बाध्य भएर सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन् ।
बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय भएको मेयर शाहले उल्लेख गरेका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यालयबाट ५०० मिटरको दूरीमा पर्ने भए पनि सिंहदरबारमा बस्ने सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्ने शाहको भनाइ छ ।
‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।