काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए ।
‘सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस्, जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज माग पूरा गरियोस्’, उनले भने । उनले काठमाडौंका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गरे ।
काठमाडौं महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा संघीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन ।
‘काठमाडौं महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुंग्याइयोस्, सँगसँगै यो विषय अहिले टुंगियो भनेर यतिकै नछाडियोस्, संघीय सरकारले बनाउनुपर्ने कानुन संसदमा ल्याइयोस् । हामी काम गर्न तयार छौँ’, उनले भने ।