काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले कोरोनाको खोप विकासमा वैज्ञानिकहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
वैज्ञानिक अनुसन्धान बिना समाजवादको बाटो तय गर्न नसकिने उनको धारणा थियो । वैज्ञानिक अनुसन्धानका कारण विश्वबाट बिफर उन्मूलन भएको र आगामी दिनमा पोलियो पनि उन्मुलनतर्फ रहेको उनले बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण भन्ने मुल नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजदेखी काठमाडौंमा सुरु भएको छ ।
उक्त सम्मेलनमा जनस्वास्थ्यका विषयमा आधारित भएर गरिएको देशी तथा विदेशी वैज्ञानिकहरुको अनुसन्धान प्रस्तुत गरिनेछ । यस पटकको सम्मेलनमा ७ विधाका १३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ ।