काठमाडौं। उपचार खर्च जुटाउन नसक्दा दुर्घटनाका घाइते अस्पतालमै बन्धक हुन बाध्य भएका छन् । धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका हुन् ।
गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल लगिएको थियो ।
उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर, अस्पतालमा उपचार वापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन् ।
उनी अस्पतामै तीन छोराछोरीसहित बन्धक छन् । उनले अस्पताललाई उपचारवापतको रु ६ लाख ६९ हजार तिर्न बाँकी छ । सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएकी हुन् ।
कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन् । बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा ६१ प ६६३३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।