पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् ।अस्पतालमा पाँच शय्या आकस्मिक कक्ष (आइसीयू) र सातवटा भेन्टिलेटर रहेका छन्।
तर, भेन्टिलेटर आवश्यक परेका बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । कोभिड–१९ का संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन नसकेका हुन् ।
गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत आएका भेन्टिलेटरको संख्या अहिलेसम्म सात पुगेको छ । तर, ती भेन्टिलेटरमा अहिलेसम्म एक जना बिरामीको उपचार गर्न पाइएको छैन ।
तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । तीन जना डाक्टर र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउनै नपाएको हो ।
१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो ।