काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताल सञ्चालन गर्ने बताउँदै आएपनि अस्पताल सञ्चालनका लागि आधारभुत तयारी समेत पुरा हुन सकेको छैन । अस्पतालमा दक्ष जनशक्ति बिना नै अस्पतालको सेवा चलाउने प्रशासनिक काममा खटिएका छन्।
सेवा प्रवाह गर्ने दक्ष जनशक्ति चिकित्सक,नर्स तथा कर्मचारी बिना नै प्रशासनिक क्षेत्रका व्यक्तिहरु खटिएका छन् । सरकारले गेटा अस्पताल सञ्चालन गर्ने भनेपनि अझै पनि दरबन्दीको टुंगो लगाउन सकेको छैन ।
गेटामा अस्पताल तथा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि भवनहरु निर्माण भएका छन्। तर उक्त स्थानमा विद्युत र पानीको व्यवस्था समेत हुन सकेको छैन। अस्पतालमा आवश्यक पर्ने छुट्टै विद्युतको व्यवस्था कहिलेसम्म हुने भन्ने समेत टुंगो लागिसकेको अवस्था छैन।