काठमाडौं । दैलेखमा पायल्सका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो समय आरामदायी जनजीवन र खानपिनका कारण दैलेखमा पायल्सका बिरामी बढ्दै गएको पाइएको हो ।
शनिबार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा जिल्लाको चामुन्द्राविन्द्रासैनी नगरपालिकामा भएको आयुर्वेद तथा योग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा आएका बिरामीहरू मध्य अधिकांश बिरामीहरू पायल्सका बिरामी भेटिएपछि दैलेखमा पायल्सका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । यो समस्या भएपछि दिसा गर्दा दुख्ने र बिस्तारै रगत देखिने, मलद्वारमा रगतका साना साना नलीहरू हुन्छन् । पायल्स भएमा ती नली फुल्दै जान्छन् ।
यसरी फुल्लेका रगतका नलीहरू बिस्तारै बाहिर निस्कन्छन् यसलाई नै चिकित्सकले पायल्स भन्ने गरेको आयुर्वेद चिकित्सक डा. प्रज्ञा उपाध्यायले बताइन् । उनका अनुसार मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन् ।
उपचारका लागि जाँदा गोप्य अंग देखाउनुपर्ने भन्दै धेरैले खुलेर समस्या बताउन चाहँदैनन् । समस्या बढ्दै गएपछि अन्तिम समयमा मात्र उपचारका लागि चिकित्सकसम्म पुग्ने हुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।