काठमाडौं । लट्टे, जसलाई न उमार्न गाह्रो छ, न यसको परिकार बनाउन । यो एक पोषणयुक्त, गुणी साग भएर पनि हामीमध्ये धेरैले लट्टेको सागलाई हेला गरिरहेका हुन्छौं । जबकि यो हाम्रो पुरानो रैथाने खानेकुरा हो ।
लट्टेको साग निकै स्वास्थ्यवर्द्धक मानिन्छ । यसबाट हाम्रो शरीरलाई आवश्यक खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । अर्थात् लट्टेको सागमा खनिज तत्व फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । भिटामिन इ, भिटामिन सी र फोलिक एसिडको स्रोत पनि हो ।
लट्टे मात्र कहाँ हो र लट्टेको दाना पनि उत्तिकै उपयोगी मानिन्छ । लट्टेको दाना बालबच्चा, गर्भवती आदिका लागि निकै लाभदायक हुन्छ । यसलाई जुनसुकै खानेकुरासँग पनि मिसाएर खान सकिन्छ । विगतमा कुपोषणबाट बच्न समेत लट्टेको दाना सेवन गरेको पाइन्छ ।
लट्टेको साग किन खाने ?
कतिपयलाई औधी स्वाद लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधीमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै यसमा किटनासक लगायत हानिकारक तत्व प्रयोग हुने संभावना पनि न्युन हुन्छ ।
लट्टेको व्यवसायिक खेती गरिएको त्यती पाइदैन । सिजनमा अनुकुल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुनसक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ । लट्ेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।