ढोरपाटन । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ।
सरकारले कक्षा छ सम्मका विद्यार्थीलाई दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा ताजा र पौष्टिक आहारयुक्त खाजा खुवाउने निर्देशिका भए पनि यहाँका अधिकांश विद्यार्थीले घरबाटै खाजा बोकेर आउने गर्छन् । विद्यार्थीले घरबाटै लिएर आउने खाजा गुणस्तरहीन हुने गरेको छ।
उनीहरूले घरबाट ल्याउने खाजा प्रांगारिक भए पनि बासी हुँदा विद्यार्थी बिरामी पर्ने गरेका छन् । विद्यार्थीले हरेक दिन पाउने १५ रुपैयाँ खाजाका लागि पर्याप्त नभएको र स्थानीय तहले नियमित निगरानी गर्न नसक्दा दिवा खाजा प्रभावकारी बन्न नसकेको अभिभावकको गुनासो छ ।
विद्यालयले निर्देशिकाभन्दा बाहिर गएर आफ्नो हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् । कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयलाई खाजा बनाउने जिम्मा दिएको पाइन्छ, केहीले अभिभावकलाई नै जिम्मा दिएका छन् भने केहीले मात्रै आफैँले बनाएर खुवाउने गरेका छन् ।
विद्यार्थीले आफँै ल्याउने खाजामा चाउचाउ, बिस्कुटलगायत पसलमा पाइने जंङ फुड बोकेर आउने गरेका छन् । पालिका, विद्यालय तथा अभिभावक अहिलेसम्म पूर्णरुपमा जिम्मेवार बन्न नसक्दा बालबालिकाहरू पौष्टिक खाजा खानबाट वञ्चित भएका छन् ।