काठमाडौं । गुल्मीमा जंगलमा लागेको डढेलो आगो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । डढेलोमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।
गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो ।
यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा बिहान मिशन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।
सोही ठाउँमा डढेलोमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।