महोत्तरी । आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् ।
आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खिल्दा यसपालि बगैँचा खेतीबाट राम्रो आम्दानी लिने आश बोकेका किसान गर्मी चर्कदै गएसँगै मधुवाले मज्जर भसक्क डढाएपछि निरास भएका हुन् । नयाँ वर्ष लागेयता बगैँचा पुग्दा वीरक्त लाग्ने गरेको किसानको गुनासो छ ।
‘यतिखेर हाँगैपिच्छे आँपका टिकोला (चिचिला) का झुप्पा देखिन्थे, तर यसपालि मज्जर डढेको कालो खरानी पो छ,’ महोत्तरीको भंगहा–४ का बगैँचा खेतीका किसान हरिदेव साहले भने, ‘यो त होला भनेर आश ग¥यो, त्यो आश पनि मरेपछि के हेरेर चित्त बुझाउनु ?’ बगैँचाका आँपका बोटमा अहिले मधुवाले डढाएर कालो ढुसी परेका पात देखिने गरेको साहले सुनाए ।
मज्जर त डढेर कालो खरानी भइहाल्यो, पातचैँ रुखमै कालो ढुसी परेको देखिँदैछं’ उनले भने, ‘यी रोगव्याध र अभावचैँ हामी किसानकै रहेछन् ।’