काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले संसदलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि बताइन् । उनले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गरिन् ।
सांसद कार्कीले भनिन्, ‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग ।
हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्रश्नहरुको अवस्था के छन् ? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’ सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाइन् ।