काठमाडौँ । सरकारले प्रिन्टिङ पेपरमा खानेकुरा प्याक गर्नका लागि रोक लगाउने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी हुन् ।
मंगलबारबाट काठमाडौँमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।
महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरूसँग मिलेर अघि बढाएको बताइन् ।