काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।
मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् ।
‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलंगा पठाउन सकिने अवस्था छैन’, उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए ।
‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ’, उनले भने । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।